भोटेकोशी बाढीमा मृतक १ हजार ४१०, ६ हजार १४५ बेपत्ता

काठमाडौं, असोज २ । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ६ हजार १४५ जना बेपत्ता छन्।

प्राधिकरणका अनुसार मृतकमध्ये ३३६ जना महिला र ५४९ जना पुरुष रहेका छन् भने ५२५ वटा मानव अवशेष फेला परेका छन्। बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये ३४४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २९० जना उपचारपछि घर फर्किएका छन्। सुरक्षा निकायहरूले हालसम्म ९ हजार ८२० जनालाई प्रत्यक्ष उपचार सेवा प्रदान गरिसकेका छन्।

मृतक तथा बेपत्ताको पहिचानका लागि व्यापक रूपमा डीएनए नमुना संकलन भइरहेको छ। हालसम्म १ हजार २८६ जना मृतक तथा उनीहरूका आफन्तबाट १ हजार ९४४ वटा डीएनए नमुना संकलन गरिएको प्राधिकरणले जनाएको छ।

बेपत्ता तथा मृतकका आफन्तले नजिकको जिल्ला प्रहरी कार्यालयमा दुईप्रति फोटो र नाता प्रमाणित कागजातसहित डीएनए परीक्षणका लागि नमुना बुझाउन सक्ने व्यवस्था गरिएको छ।

उद्धार गरिएका नागरिकको अस्थायी व्यवस्थापनका लागि २७ वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन्। हाल नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ।

उद्धार तथा राहतका लागि नेपाल प्रहरी र नेपाली सेनाका हेलिकप्टरबाट १ हजार ६३४ तथा सशस्त्र प्रहरी बलका हेलिकप्टरबाट ३२० वटा उडान सम्पन्न भएका छन्।

सडक सम्पर्क पुनःस्थापित गर्न नुवाकोटको देवीघाटमा ‘एक्रो पुल’ जडान गरी सञ्चालनमा ल्याइएको छ। प्रभावित क्षेत्रमा सडक तथा हवाई मार्गबाट खाद्यान्न र गैरखाद्य राहत सामग्री पठाउने कार्य जारी रहेको छ।

आपूर्ति व्यवस्था सहज बनाउन प्रभावित क्षेत्रमा ६० हजार लिटर डिजेल, १२ हजार लिटर पेट्रोल र ४ हजार लिटर हवाई इन्धन उपलब्ध गराइएको छ। साथै, ५०२ वटा ग्यास सिलिन्डर पनि प्रभावित क्षेत्रमा पठाइएको छ।

सरकारले होल्डिङ सेन्टरमा बस्न नचाहने प्रभावित परिवारलाई अधिकतम ६ महिनासम्म आवास तथा जीविकोपार्जनका लागि नगद सहयोग उपलब्ध गराउने भएको छ। प्रतिपरिवार मासिक १५ हजार रुपैयाँ दिइनेछ भने चार जनाभन्दा बढी सदस्य भएको परिवारलाई थप प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ उपलब्ध गराइनेछ।