कांग्रेसको इतर समूहले दशैंअघि क्षेत्रीय अधिवेशन सक्ने, मंसिरमा महाधिवेशन गर्ने तयारी
कांग्रेसको इतर समूहले दशैंअघि क्षेत्रीय अधिवेशन सक्ने, मंसिरमा महाधिवेशन गर्ने तयारी
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनको तयारी अघि बढाइरहेका बेला इतर समूहले पनि आफ्नो छुट्टै महाधिवेशन प्रक्रिया तीव्र बनाएको छ। इतर समूहले दशैंअघि नै सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।
इतर समूहका नेता किरणराज पौडेलका अनुसार महाधिवेशनको प्रारम्भिक प्रक्रियाअन्तर्गत हालसम्म करिब ८० प्रतिशत वडाको अधिवेशन सम्पन्न भइसकेको छ। अहिले विभिन्न स्थानमा पालिका तहका अधिवेशनहरू सञ्चालन भइरहेका छन्। उनले दशैंअघि नै सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिएका छन्।
पौडेलका अनुसार वडा तहको अधिवेशनको ठूलो हिस्सा सम्पन्न भइसकेकाले अब पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रदेश तहका अधिवेशनलाई निर्धारित कार्यतालिकाअनुसार अघि बढाउने तयारी भइरहेको छ। यही क्रममा बिहीबार काठमाडौं महानगरपालिकाको नगर अधिवेशनसमेत सञ्चालन भइरहेको बताइएको छ।
इतर समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका अघि सारेको छ। उक्त कार्यतालिकाअनुसार असोज २० गते पालिका तहको अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ।
समूहका अर्का नेता गुरुराज बरालले देशभरका ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिको तर्फबाट निर्वाचन अधिकृतहरू खटिएर काम गरिरहेको बताएका छन्। निर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाउँदै पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउने दाबी उनले गरेका छन्।
कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर संस्थापन र इतर समूहबीच लामो समयदेखि मतभेद देखिँदै आएको छ। अहिले दुवै पक्षले आ–आफ्नो प्रक्रियाअनुसार संगठनात्मक गतिविधि अघि बढाइरहेका छन्। इतर समूहले आफ्नो महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र र संगठन सुदृढीकरणसँग जोडेर अघि बढाइरहेको जनाएको छ।
नेता बरालले संस्थापन समूहले अघि बढाएको महाधिवेशन प्रक्रियाप्रति समेत आलोचना गरेका छन्। उनले संस्थापन समूहको महाधिवेशनलाई ‘क्लब’को संज्ञा दिँदै भविष्यमा त्यसको आकार सानो हुँदै जाने टिप्पणी गरेका छन्। उनका अनुसार आफू पराजित हुने सम्भावनाबाट बच्नका लागि विभिन्न पद सिर्जना गर्ने प्रवृत्ति लोकतान्त्रिक चरित्रअनुकूल नभएको उनको आरोप छ।
बरालले विशेष महाधिवेशनका अगुवाहरूले आफूहरू सुरक्षित रहने उद्देश्यले थप पद सिर्जना गरेको दाबी गरेका छन्। यद्यपि, कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र नेतृत्व चयनलाई लिएर दुवै पक्षबीच फरक–फरक धारणा सार्वजनिक हुँदै आएका छन्।
यसबीच नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतमा विवाद कायम रहेकै अवस्थामा कांग्रेसका विभिन्न समूहले आफ्नो राजनीतिक तथा संगठनात्मक गतिविधिलाई निरन्तरता दिइरहेका छन्। यही परिस्थितिबीच दुवै पक्षले आ–आफ्नो अडान कायम राख्दै महाधिवेशनसम्बन्धी प्रक्रिया अगाडि बढाएका हुन्।
इतर समूहले भने तोकिएको समयसीमाभित्र वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रदेश तहका अधिवेशन सम्पन्न गर्दै मंसिरमा महाधिवेशन गर्ने तयारीलाई प्राथमिकतामा राखेको छ। दशैंअघि क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने लक्ष्य पूरा भएमा त्यसपछि प्रदेश र केन्द्रीय महाधिवेशनको तयारी थप तीव्र हुने देखिएको छ।