साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता, भोटेकोशी बाढीपीडितलाई वितरण गरिने
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता, भोटेकोशी बाढीपीडितलाई वितरण गरिने
काठमाडौं। साउदी अरबले नेपाललाई मानवीय सहायता तथा राहत सामग्री उपलब्ध गराएको छ। राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (KS Relief) मार्फत उपलब्ध गराइएको सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।
सहयोग प्राप्त भएपछि मन्त्री पुनले साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले नेपाल र साउदी अरबबीचको मैत्रीपूर्ण सम्बन्ध तथा पारस्परिक सहकार्यलाई थप मजबुत बनाएको बताए।
साउदी राजदूतावासका अनुसार KS Relief को विशेषज्ञ टोलीले नेपाली सम्बन्धित निकायसँग समन्वय गरेर राहत सामग्री वितरण गर्नेछ। उक्त सामग्री विशेषगरी भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकलाई उपलब्ध गराइने जनाइएको छ।
संकटको समयमा प्राप्त अन्तर्राष्ट्रिय मानवीय सहयोगले बाढीपीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।