दशैंमा धनगढीको हवाई भाडाले गिज्यायो ‘सुदूर अब दूर नाइ’ भन्ने बालेनको भनाइ

दशैंमा धनगढीको हवाई भाडाले गिज्यायो ‘सुदूर अब दूर नाइ’ भन्ने बालेनको भनाइ

दशैं नजिकिँदै गर्दा काठमाडौं–धनगढी हवाई भाडा अत्यधिक महँगो भएपछि सुदूरपश्चिम घर फर्किने यात्रुहरू समस्यामा परेका छन्। सडकमार्ग लामो र जोखिमपूर्ण रहेको अवस्थामा हवाई टिकटको मूल्यसमेत चर्किएपछि यात्रुहरू आर्थिक भारमा परेका हुन्।

बाजुरा घर जाने हिमाल विष्टले धनगढीसम्मको हवाई टिकट करिब रु. २२,९०० पुगेको बताए। बसबाट बाजुरा पुग्न करिब रु. ५,६०० लागे पनि सडकको अनिश्चितताका कारण समयमै घर पुग्ने ग्यारेन्टी नभएको उनको भनाइ छ। धनगढीबाट आफ्नो घरसम्म पुग्न थप समय लाग्ने भएकाले महँगो हवाई टिकटले झनै अन्योल बनाएको उनले बताए।

घरमा बिरामी बुवा भएकाले छिटो पुग्नुपर्ने प्रदीप कार्कीले पनि टिकट महँगो भए पनि बाध्यताले यात्रा गर्नुपर्ने अवस्था रहेको बताए। अर्की यात्रु गरिमा शाहले पनि महँगो भाडाका कारण हवाई यात्रा नै रद्द गर्नुपरेको सुनाइन्।

चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा “सुदूर अब दूर नाइ” लेखेका थिए। तर दशैंमा घर फर्किने यात्रुहरू महँगो यातायात र लामो यात्राको समस्यामा परेपछि उक्त अभिव्यक्ति फेरि चर्चामा आएको छ।

यता बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले भने हवाई भाडा महँगो नभएको दाबी गर्दै यात्रुहरूलाई आधिकारिक वेबसाइटबाटै भाडा हेरेर टिकट काट्न आग्रह गरेका छन्।

यात्रुहरूले दशैंका बेला हवाई तथा सडक यातायातलाई सहज, सुलभ र पारदर्शी बनाउन सरकारसँग माग गरेका छन्।