महेश बस्नेत पक्राउ पर्ने हल्ला गलत, राष्ट्रिय युवा संघले भन्यो–‘अफवाहको पछि नलागौँ’

महेश बस्नेत पक्राउ पर्ने हल्ला गलत, राष्ट्रिय युवा संघले भन्यो–‘अफवाहको पछि नलागौँ’
काठमाडौं। नेकपा (एमाले) का सचिव तथा प्रभावशाली नेता महेश बस्नेतलाई प्रहरीले पक्राउ गर्न लागेको भन्दै सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलिएको खबरलाई राष्ट्रिय युवा संघ नेपालले निराधार र भ्रामक भएको दाबी गरेको छ।

राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएका छन्। उनका अनुसार सामाजिक सञ्जालमा बस्नेतविरुद्ध प्रहरी अपरेसन सञ्चालन भएको र उनलाई पक्राउ गर्न लागिएको दाबी गर्दै विभिन्न सामग्री सार्वजनिक भएपछि संघले त्यसको खण्डन गरेको हो।

युवा संघले यस्ता हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ। संघका अनुसार राजनीतिक नेतृत्व तथा नेताहरूको चरित्रहत्या गर्ने उद्देश्यले प्रायोजित र भ्रामक सूचना फैलाइएको हो।

संघले बस्नेत नियमित राजनीतिक कार्यक्रम तथा सांगठनिक गतिविधिमा सक्रिय रहेको जनाएको छ। यद्यपि, पक्राउसम्बन्धी हल्लाबारे प्रहरीले भने आधिकारिक रूपमा कुनै कारबाही वा पक्राउको सूचना सार्वजनिक गरेको उल्लेख समाचारमा छैन।