कांग्रेस महाधिवेशनमा आज मतदान, नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्गी भिड्दै
कांग्रेस महाधिवेशनमा आज मतदान, नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्गी भिड्दै
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान १० बजेका लागि तय गरिएको मतदान समय परिवर्तन गरी दिउँसो १ बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको छ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। अन्तिम उम्मेदवार सूचीअनुसार सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्। पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका विभिन्न पदमा पनि ठूलो संख्यामा उम्मेदवारी परेको छ।
मतदानका लागि काठमाडौंमा तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन्। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ।
त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। मतदानअघि प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ।